Rastriya Bahas
2026 June 04, Thursday
गृहपृष्ठ / खेलकुद / आठौँ उपमेयर छात्रा कप : उपाधिका लागि बाल शिक्षा र त्रिभुवन भिड्ने

आठौँ उपमेयर छात्रा कप : उपाधिका लागि बाल शिक्षा र त्रिभुवन भिड्ने

4 months, 1 week अगाडि | simran bishokarma
आठौँ उपमेयर छात्रा कप : उपाधिका लागि बाल शिक्षा र त्रिभुवन भिड्ने

बाँके —

बाल शिक्षा माध्यमिक विद्यालय, भरैया र त्रिभुवन माध्यमिक विद्यालय आठौँ उपमेयर छात्रा कप अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।


 

कोहलपुरस्थित कोहलपुर क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार दुई सेमिफाइनल खेल सम्पन्न भएका थिए। सेमिफाइनलको पहिलो खेलमा बाल शिक्षा माध्यमिक विद्यालयले लक्ष्मी माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइनलको यात्रा तय गर्‍यो भने दोस्रो सेमिफाइनलमा त्रिभुवन माध्यमिक विद्यालयले सगरमाथा ज्ञानपुञ्ज स्कुललाई हराउँदै फाइनल प्रवेश गरेको हो।


 

पहिलो सेमिफाइनल खेल बाल शिक्षा माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालयबीच सम्पन्न भएको थियो। टस जितेर लक्ष्मी माविले बाल शिक्षालाई ब्याटिङको निम्तो दिएको थियो। पहिला ब्याटिङ गरेको बाल शिक्षा माविले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १०२ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको लक्ष्मी मावि निर्धारित ओभरभित्र लक्ष्य पछ्याउन असफल हुँदै ६६ रनले पराजित भयो।


 

दोस्रो सेमिफाइनल खेल त्रिभुवन माध्यमिक विद्यालय र सगरमाथा ज्ञानपुञ्ज स्कुलबीच भएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको सगरमाथा ज्ञानपुञ्ज १०.३ ओभरमै अलआउट हुँदै ५८ रनमा सीमित भयो। ५९ रनको सामान्य लक्ष्य पछ्याएको त्रिभुवन माविले ११.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ६ विकेटको जित निकाल्यो।


 

प्रतियोगितामा अपराजित यात्रा तय गर्दै बाल शिक्षा मावि र त्रिभुवन माविले फाइनल भेट पक्का गरेका हुन्।

खेल संयोजक मदन विकका अनुसार प्रतियोगिताको फाइनल तथा समापन खेल आइतबार बिहान १० बजे कोहलपुर क्रिकेट मैदानमा हुनेछ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement