कोहलपुर गोल्डकप : आयोजक रेसिङ साहारा फाइनलमा
बाँके —
बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ मा आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा लालीगुराँस एसोसियसन क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक टिम उपाधि नजिक पुगेको हो।

खेलको पहिलो हाफमै आयोजक टिमले मजबुत पकड बनाएको थियो। १६औँ मिनेटमा जर्सी नम्बर २४ का निराजन खत्रीले गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि ३८औँ मिनेटमा ओम प्रकाश चौधरीले उत्कृष्ट हेडरमार्फत गोल थप्दै स्कोर २–० बनाए।

दोस्रो हाफमा लालीगुराँस पोखराले खेलमा फर्किने प्रयास गर्दै आक्रामक खेल प्रदर्शन गर्यो। ६८औँ मिनेटमा रोशन छन्त्यालले गोल गर्दै अन्तर घटाए पनि त्यसपछि थप गोल गर्न नसक्दा टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका कोहलपुर रेसिङ साहाराका ओम प्रकाश चौधरी म्यान अफ द म्याच घोषित भए। उनलाई क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री, संयोजक कर्ण बस्नेत र एन प्यानाङ एफसीका प्रबन्धक विनोद थापाले संयुक्त रूपमा नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरे।

यसअघि आयोजक टिमले पहिलो खेलमा पञ्चकोशी युथ क्लब सुदूरपश्चिमलाई १–० गोल अन्तरले हराएको थियो। लालीगुराँस पोखराले भने सातादोबाटो युथ क्लब काठमाडौँलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।

प्रतियोगिताअन्तर्गत अन्य खेलहरूमा रोयल फुटबल क्लब कर्णाली प्रदेश जस्ट जोन एफसी (नाइजेरिया)सँग ४–२ ले पराजित भएको थियो भने नेपाल पुलिस क्लबले साविक विजेता राइजिङ स्टार क्लब सुनवललाई हराएको थियो।
चौथो संस्करणको कोहलपुर गोल्डकप वैशाख २६ गते सम्पन्न हुनेछ।
सम्बन्धित खबर
ताजा खबर
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न