कोहलपुर गोल्डकपः लालीगुराँस र नेपाल पुलिस सेमिफाइनलमा
बाँके :
बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ मा लालीगुराँस एसोसियसन क्लब पोखरा र विभागीय टिम नेपाल पुलिस क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताको तेस्रो खेलमा लालीगुराँसले सातदोबाटो युथ क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित सकिएको थियो। दुवै टोलीले अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा खेलको निर्णय अन्तिम समयमा पुगेको थियो।
लालीगुराँसका जर्सी नम्बर १८ का रोशन छन्त्यालले ९४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गरेका छन्त्याल म्यान अफ द म्याच घोषित भए। उनलाई कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्मा, सहसंयोजक दीपक वली र विनोद थापाले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरे।

त्यसैगरी, चौथो खेलमा साविक विजेता राइजिङ स्टार क्लब सुनवललाई २–० ले पराजित गर्दै नेपाल पुलिस क्लबले पनि सेमिफाइनल यात्रा तय गर्यो। पुलिसको जितमा जर्सी नम्बर ७० का आशिष थारुले २६औँ र ९१औँ मिनेटमा गोल गरे। दुई गोलसहित उत्कृष्ट प्रदर्शन गरेका थारु नै म्यान अफ द म्याच घोषित भए। उनलाई भरतनिधि तिवारी, सेनानी पुकार शाह र गायक कोष खड्काले नगद ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरे।


यससँगै समूह चरणका खेलहरू सम्पन्न भएका छन्। सेमिफाइनलमा कोहलपुर रेसिङ साहारा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), लालीगुराँस एसोसियसन क्लब पोखरा र नेपाल पुलिस क्लबले स्थान बनाएका छन्। पञ्चकोशी युथ क्लब सुदूरपश्चिम, रोयल फुटबल क्लब कर्णाली, सातदोबाटो युथ क्लब काठमाडौं र राइजिङ स्टार क्लब प्रतियोगिताबाट बाहिरिएका छन्।
आयोजकका अनुसार सेमिफाइनल खेलहरू वैशाख २३ र २४ गते सञ्चालन हुनेछन् भने फाइनलअघि वैशाख २५ गते प्रिम्याच प्रेस कन्फ्रेन्स आयोजना गरिनेछ। प्रतियोगिता वैशाख २६ गते सम्पन्न हुनेछ।
सम्बन्धित खबर
ताजा खबर
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न