चौथो उप–प्रमुख कप खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
बाँके। बैजनाथ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको चौथो उप–प्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ।

तयारी पूरा भएको विषयमा शनिबार बैजनाथ गाउँपालिका–६ लालपुरस्थित गाउँपालिका स्तरीय रंगशालामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा खेलकुद विकास समिति सदस्य कुलबहादुर भण्डारीले प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिनुभयो।
कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको उपस्थिति रहेको थियो। साथै फिल्ड मार्सल संयोजक राजेश यादवसहित खेलकुद विकास समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष शाहीले विद्यार्थीमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्न, नवप्रतिभा पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न प्रतियोगिता प्रभावकारी हुने बताउनुभयो। प्रतियोगिता माघ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिनेछ।
प्रतियोगितामा आधारभूत तहतर्फ छात्रा १४९ र छात्र १४८ गरी कुल २९७ जना विद्यार्थी खेलाडी सहभागी हुनेछन्। आधारभूत तहमा १०० मिटर दौड, ४×१०० मिटर रिले दौड तथा लङ जम्प प्रतियोगिता समावेश गरिएको छ। यस तहतर्फ प्रथम स्थान हासिल गर्ने विद्यालयलाई नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै, माध्यमिक तहतर्फ एथलेटिक्स अन्तर्गत १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, ४×१०० तथा ४×४०० मिटर रिले दौड, लङ जम्प, सटपुट, ज्याभलिन र ट्रिपल जम्प खेल सञ्चालन गरिनेछ।

मार्सल आर्ट्सतर्फ तेक्वान्दो र करातेका विभिन्न तौल समूहमा छात्र तथा छात्रा दुवै वर्गका प्रतिस्पर्धा हुनेछन्। तेक्वान्दोमा छात्रतर्फ ४५ देखि ५९ केजीसम्म र छात्रातर्फ ४२ देखि ५२ केजीसम्म, साथै एकल पुम्से प्रतियोगिता हुनेछ। करातेमा छात्रतर्फ ४२ देखि ६२ केजीसम्म र छात्रातर्फ ४० देखि ६० केजीसम्म तथा एकल काँता प्रतियोगिता आयोजना गरिनेछ।
माध्यमिक विद्यालयतर्फ समग्र प्रथम हुने विद्यालयलाई नगद ४० हजार रुपैयाँ, द्वितीयलाई २५ हजार र तृतीयलाई १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
भलिबल, एथलेटिक्स, तेक्वान्दो र कबड्डी विधामा उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। साथै आधारभूत र माध्यमिक तह दुवैको शिल्ड जित्ने विद्यालयका प्रशिक्षकलाई जनही १० हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो।
पत्रकार सम्मेलनको सञ्चालन खेलकुद प्रतियोगिता सचिवालय संयोजक प्रशान्त तिमल्सिनाले गर्नुभएको थियो भने कार्यक्रमसम्बन्धी जानकारी युवा, खेलकुद तथा शिक्षा शाखाका कर्मचारी लालबहादुर बोहराले दिनुभएको थियो।
कार्यक्रमको समापन गर्दै गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रम सभाध्यक्ष निर्मला रोकायले राजनीतिक दल, संघ–संस्था, सुरक्षा निकाय, विद्यालय, खेल प्रशिक्षक, खेलाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सम्पूर्ण बैजनाथबासीलाई प्रतियोगिता सफल बनाउन सहयोगका लागि अपिल गर्नुभयो।
सम्बन्धित खबर
ताजा खबर
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न