चौँथो कोहलपुर गोल्डकप–२०८३ सुरु, आयोजक रेसिङ साहाराको विजयी सुरुवात
बाँके :
बाँकेको कोहलपुरमा चौँथो कोहलपुर गोल्डकप–२०८३ सुरु भएको छ। कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा कोहलपुर–२ स्थित प्रस्तावित फुटबल रंगशालामा प्रतियोगिता सुरु गरिएको हो।

प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले संयुक्त रूपमा गरे। उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख आचार्यले चार वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको कोहलपुर गोल्डकपले कोहलपुरको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उपप्रमुख सुवेदीले ग्रासरुटदेखि राष्ट्रियस्तरसम्मका प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै गोल्डकपलाई सबैको अपनत्व आवश्यक रहेको बताइन्।

उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लबले विजयी सुरुवात गरेको छ। साहाराले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई २–१ गोल अन्तरले पराजित गर्यो।
आयोजकका लागि विदेशी खेलाडी पेपेले २३ मिनेट ४३ सेकेन्डमा पहिलो गोल गरे भने ४३ मिनेट १० सेकेन्डमा फागुराम चौधरीले दोस्रो गोल थपे।

दोस्रो हाफमा पञ्चकोशीले आक्रामक खेल प्रदर्शन गर्दै दबाब सिर्जना गरेको थियो। खेलको ८७ मिनेट ५२ सेकेन्डमा नुसाहारा उप्रेतीले एक गोल फर्काए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

उत्कृष्ट प्रदर्शन गरेका रेसिङ साहारा क्लबका पेपे ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद पाँच हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरे।

प्रतियोगितामा आयोजक रेसिङ साहारा क्लब, पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र नेपाल पुलिस क्लब सहभागी छन्।
प्रतियोगिताको दोस्रो दिन आइतबार जस्ट जोन एफसी नाइजेरिया र रोयल फुटबल क्लब कर्णालीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
सम्बन्धित खबर
ताजा खबर
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न