पार्टी परिवर्तनप्रति उठेका प्रश्नमा ठम्मर बिष्टको कडा जवाफ
सुर्खेत —
पार्टी परिवर्तनको विषयलाई लिएर केही व्यक्तिहरूले प्रश्न उठाइरहेका बेला उज्यालो नेपालका उम्मेदवार ठम्मर बिष्टले ती आलोचनाप्रति कडा प्रतिक्रिया जनाएका छन्। उनले पार्टीभित्र रहँदा भोग्नुपरेका अन्याय, विचार विचलन र भ्रष्टाचारविरुद्धको संघर्षलाई बेवास्ता गर्दै ‘पार्टी फे¥यो’ भन्ने आरोप लगाउनु अविवेकी सोच भएको बताएका छन्।

ठम्मर बिष्टले प्रश्न गर्दै भने, “के मैले केपी ओली नेतृत्वमा भएका भ्रष्टाचार, जेन्जी आन्दोलनताका भएका रक्तपात र हत्याकाण्डलाई स्वीकारेर दासत्वपूर्ण कमिटी राजनीतिमा चुपचाप बसिरहनुपर्थ्यो?”

उनले मदन भण्डारीले प्रतिपादन गरेको विचारबाट स्खलित हुँदै स्वयम् मदन भण्डारीकै योगदानलाई अनैतिक देख्ने र उनका सन्तानलाई नै दुश्मन ठान्ने प्रवृत्तिको समेत आलोचना गरे। “त्यस्तो पार्टीमा लम्पसार भएर बसिरहनु नै सही राजनीति हो?” भन्ने प्रश्न उनले उठाए।

पार्टीभित्र रहँदा निरन्तर लडाइँ लडेको दाबी गर्दै बिष्टले केन्द्रदेखि जिल्ला तहसम्मका संरचनामा आफूले उठाएका सुझावलाई सकारात्मक रूपमा लिनुको साटो आफूलाई दुश्मनझैँ व्यवहार गरिएको बताए। “मेरो ठाउँमा तिमी भएको भए के गर्थ्यौ?” भन्दै उनले आलोचकहरूलाई आत्ममन्थन गर्न आग्रह गरे।

संगठन नभएको आरोपलाई स्वीकार्दै पनि बिष्टले अन्यायविरुद्धको संघर्षबाट खारिएको आफ्नो अनुभव र जनतासँगको काम नै सबैभन्दा ठूलो संगठन भएको बताए। “गुर्भाकोट र सिम्ताका गाउँ–गाउँमा गएर हेर्नुस्, जनप्रतिनिधि हुँदा मैले कसैलाई प्रश्न उठाउन नदिने गरी विकासको जाल बिछाएको छु,” उनले भने।

चुनाव जित–हारलाई मात्र सबैथोक नठान्ने बताउँदै बिष्टले भने, “चुनाव जित्नु वा हार्नु नै अन्तिम सत्य होइन। सत्य र परिवर्तनको एजेन्डा स्थापित गर्नु नै मेरो लक्ष्य हो।”

उनले अन्त्यमा भने, “म एक्लो भए पनि, मृत्यु पश्चात् पनि मेरो हरेक मासुको टुक्राले अत्याचार र दासत्को विरुद्ध विद्रोहको भाषा बोलिरहनेछ।”

ठम्मर बिष्टले समय र परिस्थिती फेरिएको उल्लेख गर्दै मतदातालाई गहिरिएर सोच्न र आफ्नो आत्मालाई सोध्न आग्रह गरेका छन्— “सत्यता र यथार्थता के हो?”
सम्बन्धित खबर
ताजा खबर
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न