Rastriya Bahas
2026 June 04, Thursday
गृहपृष्ठ / समाचार / पत्रकारिताको विश्वसनीयता र नैतिकतामाथि जोड: नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औँ वार्षिक साधारण सभा सम्पन्न

पत्रकारिताको विश्वसनीयता र नैतिकतामाथि जोड: नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औँ वार्षिक साधारण सभा सम्पन्न

5 days, 5 hours अगाडि | Simran bishokarma
पत्रकारिताको विश्वसनीयता र नैतिकतामाथि जोड: नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औँ वार्षिक साधारण सभा सम्पन्न

ललितपुर, १६ जेठ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा २५औँ वार्षिक साधारण सभा, पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्यूमा आयोजित विशेष समारोहमा पत्रकारिताको साख जोगाउन यसको विश्वसनीयता, नैतिकता र जिम्मेवारीमाथि व्यापक बहस र जोड दिइएको छ।

शाखाका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत प्रमुख अतिथि हुनुहुन्थ्यो।

पत्रकारितामा नैतिकता र सहिष्णुताको खाँचो : पूर्व प्रधानन्यायाधीश राउत

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं पूर्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले समाज रूपान्तरणमा पत्रकारिताले निर्वाह गर्ने भूमिका अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले पत्रकारहरूले आफ्नो कलमको शक्तिलाई सधैँ जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

पत्रकारिता र सुशासनका मूल्य–मान्यतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने औँल्याउँदै राउतले भन्नुभयो:

शब्दमा अथाह शक्ति हुन्छ। पत्रकार र पत्रकारिताको नैतिक धरातल जति बलियो हुन्छ, समाज त्यति नै सुरक्षित हुन्छ। त्यसैले पत्रकारितामा प्रयोग हुने शब्दहरू सही सन्दर्भ र पूर्ण जिम्मेवारीका साथ मात्र प्रयोग गरिनुपर्छ।"


उहाँले पछिल्लो समय घृणा, द्वेष र गलत सूचना फैलाउने प्रवृत्ति बढ्दै गएको र यसले समग्र अभिव्यक्ति स्वतन्त्रतामाथि नै खतरा उत्पन्न गर्न सक्ने चेतावनी दिनुभयो। राजनीतिक स्वार्थ र व्यावसायिक मुनाफाको नाममा पत्रकारिताका आधारभूत मूल्य र मान्यतालाई कमजोर बनाउन नहुने भन्दै उहाँले पत्रकारिता र राजनीति दुवै क्षेत्रमा सहिष्णुताको भावना अपरिहार्य रहेको बताउनुभयो।

यस्तै, साहित्य, संस्कृति, इतिहास र स्वाभिमानको संरक्षणमा पुस्तकको महत्त्वपूर्ण भूमिका रहने चर्चा गर्दै उहाँले वर्तमान पुस्ताले भविष्यका लागि इतिहास जोगाउनुपर्ने दायित्व रहेको समेत स्मरण गराउनुभयो।

विश्वसनीयता जोगाउन सबै पक्षको साथ आवश्यक : उपाध्यक्ष पण्डित


नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले पत्रकारितालाई लोकतान्त्रिक व्यवस्थाको एउटा बलियो खम्बाको रूपमा व्याख्या गर्दै यसको खस्कँदो विश्वसनीयतालाई जोगाउन चौतर्फी सहकार्यको खाँचो रहेको बताउनुभयो।

पछिल्लो समय पत्रकार र पत्रकारितामाथि उठिरहेका प्रश्नहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, "सरकारी तथा गैरसरकारी निकाय, विज्ञापनदाता, पाठक र सञ्चार क्षेत्रका सबै सरोकारवालाहरू मिलेर मात्र जिम्मेवार पत्रकारितालाई सुदृढ बनाउन सकिन्छ।"

उपाध्यक्ष पण्डितले प्रविधिको आधुनिकतातर्फ इङ्गित गर्दै, कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै ग्रामीण क्षेत्रका आधारभूत र संवेगात्मक समाचारहरू ओझेलमा पर्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले मेसिन र प्रविधिको युगमा पनि पत्रकारहरूले आफ्नो स्वनियमन, विवेक र व्यावसायिक मर्यादाका आधारमा पत्रकारिता गर्नुपर्ने सुझाव दिनुभयो।

पुरस्कार स्थापना र सम्मान

कार्यक्रममा 'सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार कोष' स्थापना गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुभएका अग्रज पत्रकार मुक्तिनाथ आचार्यको योगदानको विशेष चर्चा गरिएको थियो।

सोही अवसरमा सम्मानित हुनुभएका राजधानी दैनिकका सम्पादक डिल्ली आचार्यले आफ्नो २३ वर्षे लामो पत्रकारिता यात्राको कदर भएकोमा खुसी व्यक्त गर्दै यसले थप जिम्मेवारी बोध गराएको बताउनुभयो।

संस्थागत विकास र क्षमता अभिवृद्धिमा केन्द्रित शाखा

ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले आफू नेतृत्वमा निर्वाचित भएर आएको १८ महिनाको छोटो अवधिमा शाखाको संस्थागत विकासका लागि थुप्रै महत्त्वपूर्ण कामहरू सम्पन्न गरिएको जानकारी दिनुभयो। उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि स्थानीय तह तथा सञ्चार रजिस्ट्रारको कार्यालयसँग सहकार्य गर्दै विभिन्न तालिम तथा क्षमता विकासका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन भइरहेको बताउनुभयो।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारी, केन्द्रीय सदस्य सूर्य सुवेदी, र ललितपुर शाखाका उपाध्यक्ष श्याम तण्डुकार लगायत करिब ७० जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

पुस्तक विमोचन, सञ्चारकर्मीहरूको सम्मान तथा पत्रकारिता क्षेत्रका समसामयिक चुनौतीहरूमाथि घनीभूत छलफल गर्दै कार्यक्रम दिउँसो १२:१५ बजे सम्पन्न भएको थियो।



 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement