Rastriya Bahas
2026 June 13, Saturday
गृहपृष्ठ / समाचार / बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना: १२ जनाको उद्धार, ७ को अवस्था गम्भीर

बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना: १२ जनाको उद्धार, ७ को अवस्था गम्भीर

18 hours, 18 minutes अगाडि | Simran bishokarma
बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना: १२ जनाको उद्धार, ७ को अवस्था गम्भीर

काभ्रेपलाञ्चोक, २९ जेठ

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित बीपी राजमार्गको बुच्चाकोटमा शुक्रबार दिउँसो एक यात्रुवाहक बस दुर्घटना भएको छ । बनेपाबाट रोशी गाउँपालिका–८ खार्पाचोकका लागि छुटेको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो ।

आज दिउँसो १४:२० बजे भएको उक्त दुर्घटनामा परी घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम रहेको सुरक्षा स्रोतले जनाएको छ । बसमा सवार कुल यात्रीको संख्या भने अझै खुल्न सकेको छैन ।

नेपाली सेना र नेपाल प्रहरीद्वारा तत्काल उद्धार

घटनाको जानकारी पाउनासाथ स्थानीय प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली दिउँसो १४:३० बजे नै दुर्घटनास्थलमा पुगेर तीव्र रूपमा उद्धार कार्य सुरु गरेको थियो ।

उद्धारका लागि नेपाली सेनाको श्री नं. २६ बाहिनी अड्डाका सेनानी प्रदीप गुरैको कमाण्डमा ६१ जना र त्रिनेत्र दल गणबाट सेनानी भीम प्रसाद सापकोटाको कमाण्डमा ३५ जनाको टोली खटिएको छ ।


त्यस्तै, नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (SP) रविन कार्कीको कमाण्डमा ४० जना, प्रहरी चौकी भकुण्डेबेशीबाट प्रहरी नायब निरीक्षक (SI) गणेश श्रेष्ठको कमाण्डमा ६ जना र अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक (ASI) रामेश्वर पाण्डेको कमाण्डमा ५ जनाको टोली उद्धारमा सक्रिय छ ।

अवरुद्ध राजमार्ग पूर्ण सुचारु

दुर्घटना लगतै बीपी राजमार्गको दुवैतर्फको यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । सुरक्षाकर्मी र स्थानीयको प्रयासमा दुर्घटनास्थलमा उद्धार कार्य जारी राख्दै दिउँसो १५:४० बजेदेखि राजमार्ग दुवैतर्फ पूर्ण रूपमा सुचारु गरिएको छ ।

दुर्घटनाको विस्तृत विवरण र क्षतिबारे थप जानकारी आउन बाँकी छ । घटनास्थलमा अझै पनि थप उद्धार कार्य जारी रहेको छ ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement