Rastriya Bahas
2026 June 13, Saturday
गृहपृष्ठ / समाचार / बीपी राजमार्ग बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु, चालकसहित १६ घाइते (नामावलीसहित)

बीपी राजमार्ग बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु, चालकसहित १६ घाइते (नामावलीसहित)

18 hours, 8 minutes अगाडि | Simran Bishokarma
बीपी राजमार्ग बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु, चालकसहित १६ घाइते (नामावलीसहित)

काभ्रेपलाञ्चोक, २९ जेठ

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित बीपी राजमार्गको बुच्चाकोटमा शुक्रबार दिउँसो भएको भीषण यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपाबाट रोशी गाउँपालिका–८ खार्पाचोकका लागि छुटेको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो ।

दिउँसो १४:२० बजे भएको उक्त दुर्घटनामा परी घाइते भएका चालकसहित १६ जनालाई एम्बुलेन्स र प्रहरीको मोबाइल गाडीमार्फत उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको सुरक्षा स्रोतले जनाएको छ ।

सुरक्षा निकायद्वारा तत्काल उद्धार, राजमार्ग सुचारु

घटनाको जानकारी पाउनासाथ स्थानीय प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली दिउँसो १४:३० बजे नै दुर्घटनास्थलमा पुगेर उद्धारमा जुटेको थियो ।

नेपाली सेनाको श्री नं. २६ बाहिनी अड्डाका सेनानी प्रदीप गुरै र त्रिनेत्र दल गणबाट सेनानी भीम प्रसाद सापकोटाको कमाण्डमा ९६ जनाको सैन्य टोली खटिएको थियो । त्यस्तै, नेपाल प्रहरीका तर्फबाट जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविन कार्की, भकुण्डेबेशीका सप्रनि गणेश श्रेष्ठ र काभ्रेभञ्ज्याङका असप्रनि रामेश्वर पाण्डेको कमाण्डमा ५१ जनाको टोली उद्धारमा सक्रिय रहेको थियो ।

दुर्घटना लगतै पूर्ण रूपमा अवरुद्ध भएको बीपी राजमार्ग सुरक्षाकर्मी र स्थानीयको अथक प्रयासपछि दिउँसो १५:४० बजेदेखि दुवैतर्फ पूर्ण रूपमा सुचारु गरिएको छ । मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको पूर्ण विवरण:

धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरूको विवरण निम्न बमोजिम रहेको छ:

1. एनिशा तामाङ (२२ वर्ष): रोशी गा.पा.–८, काभ्रे (हातखुट्टामा चोट, अवस्था मध्यम)

2. बिष्णु डोल्मो तामाङ (२० वर्ष): रोशी गा.पा.–६, काभ्रे (निधार, नाक र पेटमा चोट, अवस्था मध्यम)

3. धन बहादुर तामाङ: रोशी गा.पा.–६, काभ्रे (टाउको र अनुहारमा चोट, अवस्था मध्यम)

4. चन्द्र तामाङ (३० वर्ष): रोशी गा.पा.–६, काभ्रे (निधार र हातखुट्टामा चोट, अवस्था मध्यम)

5. रमिता वाइवा (१८ वर्ष): रोशी गा.पा.–६, काभ्रे (अनुहार र देब्रे खुट्टामा चोट, अवस्था मध्यम)

6. मनब तामाङ (४० वर्ष): रोशी गा.पा.–६, काभ्रे (टाउको, अनुहार र ढाडमा चोट, अवस्था मध्यम)

7. डम्बर बहादुर शाह (६० वर्ष): रोशी गा.पा.–७, काभ्रे (टाउको, दाहिने हात र खुट्टामा चोट, अवस्था गम्भीर)

8. कृष्ण बहादुर तामाङ (४३ वर्ष): रोशी गा.पा.–८, काभ्रे (टाउको, मुख र दाहिने कोखामा चोट, अवस्था मध्यम)

9. सुरेश बहादुर बादी (२५ वर्ष): बारबर्दिया न.पा.–१२, बर्दिया (निधार र दाहिने खुट्टामा चोट, अवस्था मध्यम)

10. घोया सिंह तामाङ (३४ वर्ष) - चालक: बनेपा न.पा.–३, काभ्रे (दाहिने खुट्टा फ्याक्चर र दाहिने हातमा चोट, अवस्था मध्यम)

11. बिष्णुमाया लामा (६२ वर्ष): रोशी गा.पा.–२, काभ्रे (टाउकोमा चोट, अवस्था मध्यम)

12. मनुराज तामाङ (४३ वर्ष): तेमाल गा.पा.–८, काभ्रे (टाउको, गर्दन र छातिमा चोट, अवस्था मध्यम)

13. सुबाश (अन्दाजी / वर्षको बालक): ठेगाना नखुलेको (देब्रे खुट्टामा चोट, अवस्था मध्यम)

14. नाम नखुलेकी बालिका (अन्दाजी वर्ष)

15. नाम, थर नखुलेका पुरुष (अन्दाजी ६०/६२ वर्ष): (टाउकोमा चोट, अवस्था गम्भीर)

16. नाम, थर नखुलेकी महिला (अन्दाजी २०/२२ वर्ष): (अवस्था मध्यम)

घटनास्थलमा अझै पनि थप अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement