इप्पान (IPPAN) को २४औं ऐतिहासिक साधारण सभा दरबारमार्गमा सुरु
काठमाडौं, २९ जेठ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (IPPAN) को २४औं ऐतिहासिक साधारण सभा आज काठमाडौंमा भव्य रूपमा सुरु भएको छ। काठमाडौं महानगरपालिका वडा नं. १, दरबारमार्गस्थित होटल याक एण्ड यतीको सभाहलमा बिहान ०९:५५ बजेदेखि साधारण सभाको औपचारिक कार्यक्रम सुरु भएको हो।

इप्पानका अध्यक्ष गणेश कार्कीको अध्यक्षतामा सञ्चालित उक्त विशेष समारोहमा मुलुकको अर्थतन्त्र, ऊर्जा क्षेत्र र निजी क्षेत्रका नेतृत्वदायी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको छ।
निजी क्षेत्र र राजनीतिक नेतृत्वको ऐक्यबद्धता
साधारण सभामा विशेष अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघ (CNI) का अध्यक्ष वीरेन्द्र पाण्डे र नेपाल चेम्बर अफ कमर्स (NCC) का अध्यक्ष कमलेस अग्रवालको उपस्थिति रहेको छ। यसले नेपालको समग्र निजी क्षेत्र ऊर्जा विकासको एजेन्डामा एक ठाउँमा उभिएको सन्देश दिएको छ।
त्यसैगरी, कार्यक्रममा नीतिगत बहस र ऐक्यबद्धताका लागि माननीय प्रतिनिधि सभा सदस्यहरू:

लिमा अधिकारी
श्रीराम न्यौपाने
मोहन आचार्य
भरत पराजुली
जगदीश खरेल
दीपक शाह
डा. राम लामा
डा. धनञ्जय रेग्मी
विदुषी राणा
लगायतका जनप्रतिनिधिहरूको विशेष उपस्थिति रहेको छ।

ऊर्जा क्षेत्रका उच्च पदस्थ र पूर्व नेतृत्वको सहभागिता
साधारण सभामा जल तथा ऊर्जा आयोगको सचिवालय (WECS) का सचिव दिनानाथ मिश्र, विद्युत विकास विभाग (DOED) का महानिर्देशक (DG) मनदेवी श्रेष्ठ, नेपाल विद्युत प्राधिकरण (NEA) का प्रबन्ध निर्देशक (MD) दीर्घायुकुमार श्रेष्ठ, एचआईडीसीएल (HIDCL) का प्रमुख कार्यकारी अधिकृत (CEO) प्रजेशविक्रम थापा र विद्युत उत्पादन कम्पनी लिमिटेडका सीईओ हरेराम वाइवा लगायत सरकारी तथा अर्ध-सरकारी निकायका उच्च अधिकारीहरूको सहभागिता छ।
यस्तै, नेपाल बैंकर्स एशोसिएशन (NBA) का अध्यक्ष सन्तोष कोइराला तथा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIGP) ईश्वर कार्कीको समेत कार्यक्रममा उपस्थिति रहेको छ। इप्पानलाई यो उचाइसम्म पुर्याउन योगदान गर्ने पूर्व अध्यक्षहरू डा. सन्दीप शाह, खड्गबहादुर बिष्ट, डा. सुवर्णदास श्रेष्ठ र शैलेन्द्र गुरागाईं लगायत ऊर्जा क्षेत्रका विज्ञहरूको समेत बलियो उपस्थिति छ।

नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रम हुँदै
करिब ४५० देखि ५०० जना ऊर्जा उद्यमी, लगानीकर्ता र सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको यस साधारण सभाले संस्थाको आगामी रणनीति तय गर्नुका साथै इप्पानको निर्वाचन कार्यक्रम अन्तर्गत नयाँ नेतृत्व समेत चयन गर्नेछ।

नेपाल सरकारले घोषणा गरेको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने र आन्तरिक खपत बढाउने लक्ष्यलाई कार्यान्वयन गर्न निजी क्षेत्रको भूमिका र आगामी कार्यदिशाबारे यस साधारण सभामा गहन छलफल हुने बताइएको छ।
सम्बन्धित खबर
ताजा खबर
बीपी राजमार्ग बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु, चालकसहित १६ घाइते (नामावलीसहित)
बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना: १२ जनाको उद्धार, ७ को अवस्था गम्भीर
इप्पान (IPPAN) को २४औं ऐतिहासिक साधारण सभा दरबारमार्गमा सुरु