Rastriya Bahas
2026 June 13, Saturday
गृहपृष्ठ / समाचार / पहुँचवालाको दादागिरी विरुद्ध माइतीघरमा धर्ना: 'नयाँ सरकार आए पनि निमुखाले न्याय पाएनन्'

पहुँचवालाको दादागिरी विरुद्ध माइतीघरमा धर्ना: 'नयाँ सरकार आए पनि निमुखाले न्याय पाएनन्'

1 day अगाडि | Simran bishokarma
पहुँचवालाको दादागिरी विरुद्ध माइतीघरमा धर्ना: 'नयाँ सरकार आए पनि निमुखाले न्याय पाएनन्'

काठमाडौँ, २९ जेठ

काठमाडौँ महानगरपालिका–११ स्थित माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा आज बिहानैदेखि एक महिला न्यायको माग गर्दै धर्नामा बसेकी छन्। उदयपुरको बेलाग नगरपालिका वडा नं. ३ स्थायी घर भई हाल काठमाडौँमा रहँदै आएकी पुस्पामाया कार्कीले "पहुँचवालाको दादागिरी बन्द गर, निमुखा नागरिकलाई न्याय देऊ" भन्दै बिहान ०९:२५ बजेदेखि धर्ना सुरु गरेकी हुन्।

पीडित कार्कीले आफ्नो ब्यानरमा नयाँ सरकार (राष्ट्रिय स्वतन्त्र पार्टी - रास्वपा) लाई समर्थन गरेकै कारण आफूमाथि अन्याय भएको र राज्यका निकायहरूले उल्टै पीडकलाई संरक्षण गरेको गम्भीर आरोप लगाएकी छन्।

'रास्वपालाई समर्थन गर्दा होमस्टेबाट निकालिएँ, प्रहरीबाटै मध्यरातमा हत्कडी'

धर्नास्थलमा राखिएको ब्यानर अनुसार कार्कीले तारकेश्वर नगरपालिका–१० मा अवस्थित 'KTM Home Stay' का सञ्चालक पंकज बस्नेतबाट आफू पीडित भएको उल्लेख गरेकी छन्। उनले नयाँ सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गरेको निहुँमा सञ्चालक बस्नेतले आफूलाई उक्त होमस्टेबाट जबरजस्ती निकालेको दाबी गरेकी छन्।

सबैभन्दा स्तब्ध पार्ने आरोप बालाजु प्रहरी वृत्तमाथि लगाइएको छ। ब्यानरमा प्रश्न गरिएको छ:

महिला सुतिरहेको अवस्थामा कोठाभित्रै छिरेर हत्कडी लगाई मेरा सम्पूर्ण सामान उठाउने बालाजु प्रहरी वृत्तलाई कुन नियम कानूनले अधिकार दियो सरकार?"

सामान र औषधि समेत कब्जामा, गुहार माग्दा उल्टै हातपात

पीडित कार्कीका अनुसार उनको नागरिकता, मोबाइल, सुनको ब्रासलेट तथा नियमित खानुपर्ने अत्यन्तै जरुरी औषधि समेत फिर्ता दिइएको छैन। आफ्ना सामान फिर्ता पाउन र न्यायका लागि पटक-पटक विभिन्न सरकारी तथा प्रशासनिक निकायहरूमा धाउँदा पनि सुनुवाइ हुनुको साटो उल्टै आफूमाथि हातपात गरेर निकालिएको दुखेसो उनले पोखेकी छन्।


नयाँ सरकारलाई प्रश्नै-प्रश्न

वर्षौँदेखि पहुँचवाला र शक्तिको आडमा सर्वसाधारण निमुखा नागरिक थिचिने क्रम नयाँ सरकार आउँदा पनि नरोकिएको भन्दै कार्कीले ब्यानरमार्फत आक्रोश पोखेकी छन्। उनले नयाँ सरकारलाई सोधेकी छन्:

 "के यो देशमा हामी सर्वसाधारण गरिब दुखी जनताले न्याय पाउन र आफ्नो अधिकार पाउन मर्नै पर्ने हो नयाँ सरकार?"

 "हरेक प्रहरी प्रशासन, सरकारी निकाय र अन्य पहुँच भएका व्यक्तिहरूबाट हामी गरिब नागरिक किन सधैँ अन्यायमा पर्छौँ नयाँ सरकार?"



विभिन्न निकायबाट न्यायको ढोका बन्द भएपछि बाध्य भएर सडकमा आउनु परेको बताउने कार्कीको धर्नालाई सर्वसाधारणले चासोका साथ हेरेका छन्। यस घटना र लागेका आरोपहरूका सम्बन्धमा सम्बन्धित होमस्टे सञ्चालक तथा बालाजु प्रहरी वृत्तको आधिकारिक धारणा आउन बाँकी छ।



 


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement